२०८२ श्रावण २६ गते

४० करोड लगानीमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण गर्दै मेरो किसान

बैंकिङ खबर/ मेरो किसान लिमिटेडले चितवनको भरतपुर महानगरपालिका–२२, पटिहानीमा अत्याधुनिक कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण कार्य सुरु गरेको छ । कम्पनीले करिब ४० करोड रुपैयाँ लगानी गरेर प्रशोधन उद्योग र कोल्ड स्टोरको शिलान्यास गरेको हो ।

कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक अविनाश सिलवालका अनुसार, उद्योगमा २५ भन्दा बढी कृषि उपज प्रशोधन गरिनेछ । यसमा चितवनको तोरीको तेल, टमाटर केचप, बेसार, अदुवा सुठो, अलैंची, कोदो, फापर, मह, कफी लगायतका उत्पादन समावेश छन्। कच्चा पदार्थ स्थानीय किसान र देशभरिका उत्पादकबाट संकलन गरिनेछ। सिलवालले आगामी पुस १५ भित्र परियोजना निर्माण पूरा गर्ने लक्ष्य रहेको जानकारी दिए।

उद्योगले प्रशोधित उत्पादनहरू देशव्यापी वितरणका साथै अन्तर्राष्ट्रिय निर्यात गर्ने योजना बनाएको छ। त्यस्तै, कोल्ड स्टोरमा तरकारी तथा फलफूलको लामो समयसम्म संरक्षण गरी काठमाडौं, पोखरा लगायतका मुख्य सहर र विदेशमा आपूर्ति गरिनेछ ।

कोरोना महामारीको बेला स्थापना भएको मेरी किसान लिमिटेडले छोटो समयमै मोबाइल एपमार्फत ४० हजारभन्दा बढी उपभोक्ता र ३ सयभन्दा बढी व्यवसायिक हाउससँग काम गर्दै आएको छ । देशभरका ५ सयभन्दा बढी व्यवसायिक कृषकहरूसँग दीर्घकालीन सम्झौता गरेर उत्पादन, संकलन, प्रशोधन र वितरणको सबै चरणमा सक्रिय रूपमा संलग्न रहेको कम्पनीले जनाएको छ ।

सिलवालले बीउदेखि बजारसम्मको प्रतिबद्धता जनाउँदै, यस परियोजनाले किसानको आम्दानी वृद्धि गर्ने, कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्ने, खाद्य सुरक्षा बलियो बनाउने र नेपालको कृषि निर्यात क्षमतामा योगदान पुर्‍याउने लक्ष्य राखेको बताए ।

चाँडै आइपीओ ल्याउने तयारी

कम्पनीले बिउ उत्पादन, खाध मल, किटनाशक, उत्पादन परामर्श, उत्पादन पूर्वाधार, उपजको प्रशोधन, बजारीकरण, सहज ऋण सुविधा सहितको सम्पूर्ण कृषि चक्रका लागि थप पूँजी लगानी गर्न सर्वसाधारणमा चाँडै नै आइपीओ जारी गर्ने जनाएको छ। नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त निर्देशक विष्णुमणी गौतम यो कम्पनीको अध्यक्ष हुन् । गौतम हाल आशा लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालक समिति अध्यक्ष छन् ।