२०८२ श्रावण २१ गते

चारवटा रुग्ण उद्योगको सम्पत्ति मूल्यांकन प्रक्रिया सुरु

बैंकिङ खबर/ अर्थ मन्त्रालयले सरकारको स्वामित्वमा रहेका चारवटा रुग्ण (नचल्ने) उद्योगको सम्पत्ति मूल्यांकन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। मन्त्रालयले सम्पत्ति मूल्यांकनका लागि विभिन्न परामर्शदाता कम्पनीहरूको संक्षिप्त सूची (सर्टलिष्ट) सार्वजनिक गरेको हो।

मूल्यांकन प्रक्रिया बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना, नेपाल ओरियण्ड म्याग्नेसाइट प्रा.लि. र नेपाल मेटल कम्पनी लिमिटेडका लागि सुरु गरिएको छ।

यसअघि मन्त्रालयले मूल्यांकनकर्ताको छनोटका लागि सार्वजनिक आवेदन आह्वान गरेको थियो। सोही प्रक्रियाअनुसार मंगलबार मन्त्रालयले मूल्यांकनका लागि छनोट भएका परामर्शदाता कम्पनीहरूको सर्टलिष्ट तयार पारेको हो।

सर्टलिष्टमा परेका कम्पनी 

जनकपुर चुरोट कारखाना: ८ कम्पनी

बुटवल धागो कारखाना: १२ कम्पनी

नेपाल ओरियण्ड म्याग्नेसाइट प्रा.लि.: ११ कम्पनी

नेपाल मेटल कम्पनी: ११ कम्पनी

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यी उद्योगहरूको सम्पत्ति व्यवस्थापन गरी औपचारिक रूपमा खारेज गर्ने नीति लिएको छ। मूल्यांकनपछि उद्योगहरूको बाँकी सम्पत्ति व्यवस्थापन गरी आवश्यक प्रक्रिया अघि बढाइने अर्थ मन्त्रालयले जनाएको छ।