
बैंकिङ खबर/दुई फरक मुद्दामा धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारले सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारी गरेको छ।
महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्ने निर्णय गरेको हो। त्यसका लागि आदेशको अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिइएको प्रवक्ता उद्धव पुडासैनीले जानकारी दिए।
‘दुवै आदेश न्यायको मान्य सिद्धान्त र कानूनी व्यवस्था विपरीत रहेको हाम्रो निष्कर्ष हो,’ पुडासैनीले भने, ‘यस्तो आदेशले विधिको शासनलाई प्रवर्द्धन गर्दैन भन्ने निष्कर्षका साथ हामी सर्वोच्च अदालतमा निवेदन लिएर जान लागेको हौं।’
१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको सार्वजनिक अपराध मुद्दा र बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले आइतबार प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
धरौटी बुझाएर उनी सोमबार डिल्लीबजार कारागार फर्किएका थिए। झन्डै दुई घण्टापछि कारागार प्रशासनले कानुनी प्रक्रिया पूरा गरी उनलाई बेलुकी रिहा गरेको थियो।
