
बैंकिङ खबर/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चे काफल डाँडाका जगबहादुर फगामी बाख्रा पालनबाट आत्मनिर्भर बनेका छन्। वैदेशिक रोजगारमा धोका पाएपछि उनले गाउँमै परिश्रम गरेर सफलताको उदाहरण प्रस्तुत गरेका हुन्।
फगामी मलेसियामा तीन वर्ष काम गरेका थिए। तर कम्पनीले पारिश्रमिक नदिएपछि निराश भएर उनी गाउँ फर्किए। गाउँमै एउटा बाख्राबाट सुरु गरेको यात्रा आज १५० भन्दा बढी बाख्रासम्म पुगेको छ। ‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेतीकिसानी सुरु गरेको थिएँ,’ फगामी भन्छन्, ‘बाख्राले जुम्ल्याहा पाठा पाठी जन्माएपछि संख्या बढ्दै गयो। पछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा दुई लाखमा किनेर व्यवसायिक बाख्रा पालन थालेँ।’
फगामीले सञ्चालन गर्दै आएको ‘सुतारे एकीकृत कृषि तथा पशुपक्षी फर्म’मा हाल १५० वटा बाख्रा छन्। तीमध्ये ४० वटा माउ बाख्रा ब्याउने अवस्थामा छन्। चाडपर्व र पूजाआजाका लागि खसीबोका र पाठा पाठी गोठबाटै बिक्री हुने गरेको छ।
उनले मासिक ४० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। फर्ममा फगामी, उनकी श्रीमती, छोरा र बुहारीको श्रम संलग्न छ भने चरनको लागि एक जना कर्मचारी पनि राखिएको छ। हिउँदमा बेसीमा घाँस खुवाएर मल उत्पादन गरिन्छ भने गर्मीयाममा बाख्रालाई ढरुवा, धौलापारा, साँधीखर्क लगायतका लेकाली जंगलमा चरनका लागि लगिन्छ।
फगामीले अब भेडापालन सुरु गर्ने योजना पनि बनाएका छन्। फर्म विस्तारका लागि उनले अन्नपूर्ण गाउँपालिकाबाट खोर निर्माणको लागि अनुदान पाएका छन्। गाउँपालिकाले उपलब्ध गराएको एक लाख ६६ हजार रुपैयाँको अनुदान, परिवारको श्रमदान र नगद साझेदारी गरेर करिब साढे तीन लाख रुपैयाँ लगानीमा ३०० बाख्रा अट्ने क्षमता भएको खोर निर्माण गरिएको छ।
बाख्राबाट छिटो आम्दानी हुने र अन्य पशुपालनभन्दा सजिलो भएकाले फगामी परिवारले यसलाई मुख्य पेसा बनाएका छन्। फगामीको भनाइअनुसार, उचित बजार सुनिश्चित भएमा बाख्रा पालनलाई अझै ठूलो स्तरमा विस्तार गर्ने योजना रहेको छ।
