२०८२ श्रावण १६ गते

जुलाईमा ७० हजार बढी विदेशी पर्यटक भित्रिए

बैंकिङ खबर/ सन् २०२५ को जुलाई महिनामा नेपालले कूल ७० हजार १९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ। यो संख्या अघिल्लो वर्षको जुलाईको तुलनामा ८.७ प्रतिशतले बढी हो। नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को जुलाई महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले ९९ प्रतिशत रिकभरी गरेको छ।

यसले कोभिड–१९ महामारीपछि थलिएको नेपालको पर्यटन क्षेत्र फेरि पुनःलयमा फर्किएको स्पष्ट संकेत गरेको पर्यटन बोर्डको भनाइ छ। सन् २०२५ को जनवरीदेखि जुलाई महिनासम्म नेपालमा कूल ६ लाख ४७ हजार ८८२ जना विदेशी पर्यटक भित्रिएका छन्, जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो संख्या नेपालको पर्यटन पुनरुत्थान र नेपाललाई फेरि एकपटक विश्वस्तरीय गन्तव्यको रूपमा स्थापित गर्दै लगेको संकेत भएको बताए।

भारतबाट सबैभन्दा बढी पर्यटक

जुलाई महिनामा आएका कूल पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट २७ हजार १५२ जना (३८.७ प्रतिशत) नेपाल आएका छन्। दोस्रो स्थानमा चीनबाट ६ हजार ८९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट ६ हजार ६२६ जना (९.४ प्रतिशत), त्यसपछि बंगलादेशबाट ४ हजार ४१३ जना (६.३ प्रतिशत) र बेलायतबाट ३ हजार ५४७ जना (५.१ प्रतिशत) पर्यटक आएका छन्।

क्षेत्रीय विश्लेषण

क्षेत्रीय आधारमा हेर्दा दक्षिण एसियाबाट सर्वाधिक ३३ हजार ७८७ जना (४८.१ प्रतिशत) पर्यटक आएका छन्। अन्य एसियाली मुलुकहरूबाट १३ हजार ५२ जना (१८.६ प्रतिशत), युरोपबाट ९ हजार २९२ जना (१३.२ प्रतिशत), अमेरिका महादेशबाट १२ हजार ७७५ जना (११.१ प्रतिशत), ओसिनिया क्षेत्रबाट १ हजार ८०७ जना (२.६ प्रतिशत), मध्यपूर्वबाट ८२६ जना (१.२ प्रतिशत), अफ्रिकाबाट ३१८ जना (०.५ प्रतिशत) र अन्य क्षेत्रबाट ३ हजार ३२९ जना (४.७ प्रतिशत) पर्यटक नेपाल आएका छन्।