
बैंकिङ खबर/ नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनका लागि वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। भदौ ७ गते (अगस्ट २३) मा हुने भनिएको संघको निर्वाचनका लागि उनले आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गरेका हुन्।
गुरुङ संघको अघिल्लो कार्यकालमा महासचिवको रूपमा कार्यरत थिए। तीन वर्षको अवधिमा उनले हिमालसँग सम्बन्धित चुनौती, अवसर र समाधानका विविध पक्षहरू प्रत्यक्ष रूपमा बुझ्ने र अनुभव गर्ने मौका पाएको बताएका छन्।
नेपालको पर्वतीय पर्यटनको दिगो विकास, श्रमिक तथा व्यवसायीहरूको हकहित संरक्षण र संस्थागत सुधारका उद्देश्यसहित आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको गुरुङले बताए।
तीन दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय गुरुङ देश तथा विदेशमा नेपालको हिमाली सम्भावना चिनाउने, पर्वतारोहणको सुरक्षित व्यवस्थापन गर्नेसहित सम्बन्धित समुदायको सशक्तीकरणमा पनि निरन्तर क्रियाशील रहँदै आएका छन्।



