२०८२ श्रावण १२ गते

नेपालमा एमसीसी निरन्तरताको पत्र अर्थ मन्त्रालयमा

बैंकिङ खबर/ नेपालमा कार्यान्वयनमा रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टलाई निरन्तरता दिने निर्णय अमेरिकी पक्षबाट गरिएको छ।

अर्थ मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै एमसीसीले नेपाल कम्प्याक्टको पुनरावलोकन प्रक्रिया समाप्त गरी परियोजनालाई निरन्तरता दिने सिफारिस गरेको जानकारी दिएको हो।

विज्ञप्तिअनुसार, सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशअनुसार एमसीसी नेपाल कम्प्याक्टको पुनरावलोकन प्रक्रिया सुरु गरिएको थियो। सोही क्रममा २०८१ चैत २२ गतेको पत्रअनुसार एमसीसी र नेपाल सरकारबीच सन् २०१७ सेप्टेम्बर १४ (२०७४ भदौ २९) मा सम्पन्न सम्झौता स्थगन अवस्थामा पुगेको थियो।

तर, एमसीसीको जुलाई २४, २०२५ (साउन ८, २०८२) को पत्रमार्फत पुनरावलोकन कार्य सकिएको र कम्प्याक्ट कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस भएको जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

यस निर्णयसँगै ऊर्जा प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिको परियोजनालाई थप तीव्र गतिमा अगाडि बढाउने बाटो खुलेको छ। मन्त्रालयले परियोजनासँग सम्बन्धित सबै सरोकारवाला निकायलाई आवश्यक समन्वय र तयारीमा जुट्न पनि आग्रह गरेको छ।