
बैंकिङ खबर/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुशासन र संस्थागत सुदृढीकरणलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एसियाली विकास बैंक (ADB) को ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी २०२५–२०२९’ सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले एडीबीको रणनीतिले नेपालको आर्थिक रूपान्तरण, निजी क्षेत्रको विकास, र कृषिको आधुनिकीकरण जस्ता क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। अर्थमन्त्री पौडेलले उक्त रणनीति नेपालको १६औं योजनासँग तालमेल गरिएको बताउँदै, यसले गुणस्तरीय रोजगारी सिर्जना गर्न मद्दत गर्ने बताए।
उनले जलवायु परिवर्तनको असरबाट नेपाल अत्यधिक प्रभावित भएको भन्दै, रणनीतिबाट प्राप्त सहयोगले दिगो विकासमा सहयोग गर्ने उल्लेख गरे। सरकारले नवीकरणीय ऊर्जामा जोड दिइरहेको र भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्ध रहेको भन्दै उनले सरकारी प्रक्रियालाई पारदर्शी र सहज बनाइने बताए।
उनले सरकार एडीबी र अन्य विकास साझेदारसँग लगानीको वातावरण सुधार गर्ने र अवरोध हटाउने काममा क्रियाशील रहेको पनि बताए।



