
बैंकिङ खबर/ पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आर्थिक समृद्धि हासिल गर्न राज्यको सोचाइ र नीति निर्माणको तरिका बदल्न आवश्यक रहेको बताएका छन्।
नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूसँग आफ्नो निजी निवास खुमलटारमा भएको भेटका क्रममा अध्यक्ष प्रचण्डले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको भन्दै नीतिगत सुधारमार्फत निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताएका हुन्।
उनले भने, “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन। राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।”
भेटमा सिएनआइका पदाधिकारीहरूले मुलुकको समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिकाको चर्चा गर्दै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा राज्य र निजी क्षेत्रबीच भएको सहकार्य स्मरण गरेका थिए। उनीहरूले आगामी दिनमा पनि निजी क्षेत्रप्रति सकारात्मक वातावरण बनाइराख्न आग्रह गरेका थिए।



