Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

श्रमिकको न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ कायम

२०८२ श्रावण १ गते

बैंकिङ खबर/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा अब श्रमिकको मासिक न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ कायम गरिएको जनाइएको छ।

यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३०० रुपैयाँ र प्रतिघण्टाको पारिश्रमिक ८९ रुपैयाँ थियो। आंशिक रूपमा काम गर्ने श्रमिकको भने प्रतिघण्टा ९५ रुपैयाँ तलब निर्धारण गरिएको थियो। बुधबार साँझ सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधिहरूबीच भएको सहमतिअनुसार नयाँ पारिश्रमिक दर तोकिएको हो। अब मासिक तलबमध्ये १२ हजार १७० रुपैयाँ आधारभूत तलब र ७ हजार ३८० रुपैयाँ महङ्गी भत्ता हुनेछ।

त्यस्तै, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक ७५४ रुपैयाँ तोकिएको छ। जसमा आधारभूत ४७० र महङ्गी भत्ता २८४ रुपैयाँ हुनेछ। नयाँ दरअनुसार प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ कायम गरिएको छ भने आंशिक समय काम गर्ने श्रमिकको हकमा प्रतिघण्टा १०७ रुपैयाँ न्यूनतम पारिश्रमिक हुनेछ। यो नयाँ पारिश्रमिक दर चिया बगानका श्रमिकमा भने लागू हुने छैन। उनीहरूको पारिश्रमिक सम्बन्धित पक्षसँग छलफल गरी अलग निर्णय गरिने मन्त्रालयले जनाएको छ।