
बैंकिङ खबर/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले आज सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै आफ्नो राजीनामा घोषणा गरेका हुन्।
गुप्ताले लेखेका छन्, “कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु।”
हालै एक घुस लेनदेनको अडिओ सार्वजनिक भएपछि गुप्ता विवादमा तानिएका थिए। त्यसपछि उनलाई मन्त्री पदबाट हटाउने दबाब तीव्र बनेको थियो।
गुप्ताले प्रविधिको दुरुपयोग भएको संकेत गर्दै लेखेका छन्, “प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रूपमा मलाई सहयोग गर्नुहुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
राजीनामा घोषणासँगै गुप्ताले पार्टीले दिएको जिम्मेवारी अब अझ बढी इमानदारी र निष्ठाका साथ पूरा गर्ने प्रतिवद्धता जनाएका छन्। “अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ जनताको घर–दैलोमा आउने प्रण गर्दछु,” उनले लेखेका छन्।
गुप्तको राजीनामा प्रधानमन्त्रीको औपचारिक स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ। यसअघि उनी प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाटका लागि पुगेका थिए।
गुप्त प्रतिनिधिसभा सदस्यसमेत हुन् र उनी लुम्बिनी प्रदेशको रुपन्देही क्षेत्रबाट निर्वाचित भएका थिए।




