
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक प्रतिवेदनअनुसार कर्णाली प्रदेशको आर्थिक गतिमा विस्तारको संकेत देखिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा कर्णालीको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। सेवा र पूर्वाधार क्षेत्रमा देखिएको विस्तारले समग्र आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पारेको राष्ट्र बैंकले जनाएको छ। तर, कृषि र उद्योग क्षेत्रमा अझै चुनौतीहरू कायमै छन्।
सेवामुखी बन्दै कर्णालीको अर्थतन्त्र
प्रतिवेदनअनुसार कर्णालीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सेवा क्षेत्रको योगदान ५८.९ प्रतिशत पुगेको छ। कृषि क्षेत्रको योगदान ३१.५ प्रतिशत र उद्योग क्षेत्रको योगदान ९.६ प्रतिशत मात्र छ। यो आँकडाले प्रदेशको अर्थतन्त्र सेवा–मुखी बन्दै गएको स्पष्ट संकेत गर्छ।
सेवा क्षेत्रमा उल्लेखनीय प्रगति भएको देखिएको छ। पर्यटक आगमनमा ११.०९ प्रतिशतले वृद्धि भएको छ भने भारत, चीन र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या क्रमशः १२.८२, ३.६९ र १३.३४ प्रतिशतले बढेको छ। कर्णालीमा प्रवाहित कर्जाको ८४.८९ प्रतिशत हिस्सा सेवा क्षेत्रमा केन्द्रित देखिएको छ।
कृषि उत्पादनमा मिश्रित अवस्था
कृषि क्षेत्रमा भने मिश्रित अवस्था देखिएको छ। समग्र कृषि उत्पादनमा ३.०६ प्रतिशतको वृद्धि भए पनि खाद्य, नगदे तथा अन्य बालीको उत्पादन ४.८३ प्रतिशतले घटेको छ। विशेषगरी धान, गहुँ, कोदो र जौको उत्पादनमा उल्लेखनीय गिरावट आएको छ। तर, मकैको उत्पादनमा ४.२४ प्रतिशत वृद्धि भएको छ। यस्तै, तरकारी तथा फलफुल उत्पादनमा क्रमशः २२.७४ र ४४.७३ प्रतिशत वृद्धि भएको छ।
कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा १४.०१ प्रतिशतले बढेको छ, जसले कुल कर्जाको ८.७१ प्रतिशत हिस्सा ओगटेको छ।
उद्योग क्षेत्रमा सीमित प्रगति
उद्योग क्षेत्रमा क्षमता उपयोग औसतमा ३७.९३ प्रतिशतमा सीमित देखिएको छ। कागज उद्योगले ९७ प्रतिशत क्षमतामा सञ्चालन भए पनि दुग्ध पदार्थ उद्योगको क्षमता उपयोग मात्र २६ प्रतिशतमा सीमित छ। यद्यपि, औद्योगिक कर्जा १४.९५ प्रतिशतले बढेको छ र कुल कर्जाको ६.४१ प्रतिशत हिस्सा उद्योगमा प्रवाहित भएको छ।
पूर्वाधारको क्षेत्रमा उल्लेखनीय सुधार
पूर्वाधार क्षेत्रमा भने उल्लेखनीय प्रगति देखिएको छ। विद्युत् प्रसारण लाइनको लम्बाइ २४१६.४७ किलोमिटर पुगेको छ भने १७.४१ मेगावाट विद्युत् उत्पादन भएको छ। यस्तै, पुष्पलाल लोकमार्ग, कर्णाली कोरिडोर, मदन भण्डारी राजमार्ग र भेरी–बबई डाइभर्सनजस्ता परियोजनामा उल्लेखनीय गति आएको छ।




