२०८२ असार २२ गते

पर्यटन क्षेत्रमा निजी तथा विदेशी लगानीको खाँचो

बैंकिङ खबर/उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रलाई नेपालको समृद्धिको बलियो आधारको रूपमा औंल्याएका छन्।

काठमाडौंमा आयोजित ‘अर्थतन्त्र डटकम’को अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले पर्यटन नेपालको समृद्धिका लागि शक्तिशाली विकल्प भएको बताए।

उनले भने, ‘समृद्धिका निम्ति हामीसँग अरु विभिन्न विकल्प छन्, तर तीमध्ये पर्यटन एक शक्तिशाली सम्भावना भएको क्षेत्र हो।’ पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन आवश्यक रहेको भन्दै पौडेलले देशभित्रको मात्र होइन, बाह्य लगानी पनि आकर्षित गर्न सरकार लागिपरेको जानकारी दिए।

उनले स्पष्ट पारे, ‘राज्यको लगानीले मात्र पुग्दैन। पर्यटनलाई आकर्षक गन्तव्य बनाउने सन्देश दिनु र स्वदेश तथा विदेशका निजी क्षेत्रलाई लगानी गर्न उत्प्रेरित गर्नु राज्यको भूमिका हो।’

बजेट निर्माणमा पनि पर्यटन पूर्वाधार र निजी लगानीको संयोजनलाई ध्यान दिइएको मन्त्री पौडेलको भनाइ थियो। कार्यक्रममा मन्त्री पौडेलले राजनीतिक स्थायित्वको आवश्यकता औंल्याउँदै अबको बाटो विकास र समृद्धितर्फ उन्मुख हुनु पर्ने बताए।

उनका अनुसार पूर्वाधार, लगानीमैत्री नीति र सहकार्यमार्फत पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकार तयार छ। कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ, लगानीकर्ता, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।