
बैंकिङ खबर/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको विदेश पलायन रोक्न देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। शनिबार पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०१औँ जन्मजयन्तीको अवसरमा जय नेपाल फाउण्डेसनद्वारा आयोजित ‘सकारात्मक सोच र जय नेपाल फाउण्डेसन’ विषयक कार्यक्रममा बोल्दै उनले वर्तमान अवस्थाको मूल कारण रोजगारीको अभाव भएको उल्लेख गरे।
‘देशमा रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेस चाहिँदैन, तर उपयुक्त कार्ययोजना चाहिन्छ,’ नेता कोइरालाले स्पष्ट पारे। उनले भने, ‘नकारात्मक सोचले देशलाई कमजोर बनाउँछ। युवा पलायनलाई न्यून गर्न सक्नुपर्छ। त्यसका लागि उत्पादनमूलक क्षेत्रमा लगानी र नीतिगत रूपान्तरण आवश्यक छ।’
उनले हाल सरकारले कृषकलाई दिनुपर्ने अनुदानसमेत दिन नसकेको उल्लेख गर्दै भने,‘सरकारसँग पैसा छैन भन्ने बहानामा कृषक मारमा परेका छन्। तर, हामीले यही कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सके रोजगारी पनि सिर्जना हुन्छ र अर्थतन्त्र पनि चलायमान हुन्छ।’
कोइरालाले नेपाली कांग्रेसले रोजगारीको मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे पनि त्यसका लागि कांग्रेस मात्र भएर नहुने र सबै तहको समन्वय आवश्यक पर्ने बताए। कार्यक्रममा अन्य वक्ताहरूले पनि सकारात्मक सोच, उद्यमशीलता र आत्मनिर्भरताको महत्त्वमाथि प्रकाश पारेका थिए।



