२०८२ असार १९ गते

चालु आवमा विकास बजेट खर्च आधा मात्र

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०७८/०८२ सकिन अझै ११ दिन बाँकी रहेको भए पनि विकासतर्फको बजेट आधा मात्र खर्च भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवमा पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा असार १८ सम्ममा १ खर्ब ६४ अर्ब मात्र खर्च भएको छ। यो कुल बजेटको ४६.५९ प्रतिशत हो।

गत आर्थिक वर्षको तुलनामा यो विकास खर्च कमजोर रहेको देखिन्छ। विगत वर्षको असार १८ सम्म पुँजीगत बजेटको ४८.५७ प्रतिशत खर्च भएको थियो।

विकास खर्चभन्दा बढी ऋणको दायित्व व्यवस्थापनमा खर्च भएको छ। चालु आवमा कुल ३ खर्ब ६७ अर्ब रुपैयाँ ऋण servicing का लागि छुट्टाइएको थियो, जसमा अहिलेसम्म करिब ३ खर्ब ११ अर्ब खर्च भइसकेको छ। यसको अर्थ उक्त शीर्षकको करिब ८६ प्रतिशत बजेट खर्च भइसकेको छ।

कुल बजेटको हिसाबले हेर्दा चालु आवमा करिब ७५ प्रतिशत बजेट खर्च भइसकेको छ। चालु आवका लागि १८ खर्ब ६० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो, जसमा केही कटौती गरिएको थियो।

चालु बजेटको सबैभन्दा ठूलो हिस्सा चालु खर्चमा भएको छ। ११ खर्ब ४० अर्ब रुपैयाँ विनियोजन गरिएको यस शीर्षकमा करिब ८२ प्रतिशत खर्च भइसकेको छ। चालु खर्च मुख्यतः कर्मचारी तलब, भत्ता र कार्यालय सञ्चालनजस्ता प्रशासनिक कार्यमा खर्च हुने गरेको छ। यस किसिमको खर्च प्रत्येक वर्ष बढिरहेको छ।