२०८२ असार १२ गते

कर नीतिको विरोधमा अनिश्चितकालीन सुनचाँदी व्यवसाय बन्दको घोषणा

बैंकिङ खबर/ नेपाल सरकारद्वारा लागू गरिएको कर प्रणालीलाई अव्यवहारिक भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रूपमा देशभर अनिश्चितकालीन व्यवसाय बन्द गर्ने घोषणा गरेका छन्।

दुवै महासंघद्वारा जारी संयुक्त विज्ञप्तिमा सरकारले ल्याएको कर नीति व्यवसायीमैत्री नभएको भन्दै यसप्रति कडा आपत्ति जनाइएको छ। महासंघहरूले जिल्ला, नगर, वस्तुगत र एसोसियट सदस्यहरूबाट प्राप्त लिखित तथा मौखिक सुझावका आधारमा असार १३ गतेदेखि सम्पूर्ण व्यवसायहरू अनिश्चितकालका लागि बन्द गर्ने निर्णय लिएका हुन्।

महासंघका अनुसार व्यवसाय बन्दसँगै सरकारको निर्णयविरुद्ध थप आन्दोलनका कार्यक्रम पनि तय गरिएको छ। उक्त कार्यक्रमहरूमा सम्पूर्ण सदस्य व्यवसायीहरूको सक्रिय सहभागिता रहनुपर्ने जानकारी महासंघले दिएको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव निर बहादुर विश्वकर्मा र नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारसँग संवाद र सहमतिमा जानुपर्ने मागसमेत गरिएको छ। महासंघहरूले सरकारलाई विगतमा पटक–पटक व्यवसायीको आवाज सुनाउन आग्रह गरे पनि ध्यान नदिइएको आरोप लगाएका छन्। अबको संघर्षले व्यवसायीको हक र हित सुरक्षित हुने विश्वास व्यक्त गरिएको छ।