
बैंकिङ खबर/उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक रहेको भन्दै स्रोत व्यवस्थापन र खर्चको बाँडफाँड संविधान, प्रतिवेदन र मापदण्डअनुसार गरिएको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकार शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सफल भएको बताए। अर्थतन्त्री पौडेलले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे।
तीन करोड रुपैयाँभन्दा कम बजेटका आयोजनासम्बन्धी आलोचना बारे बोल्दै उनले अपवादबाहेक उक्त सीमालाई पालना गरिने स्पष्ट पारे। “बजेटमा धेरै छलफल भएको, केन्द्रमा रहेको विषय तीन करोडको सीमा हो। यस विषयमा जिज्ञासा छन् तर संविधानको अधिकार सूची, कार्य विस्तृतीकरण प्रतिवेदन र आयोजना वर्गीकरण मापदण्डअनुसार नै बजेट विनियोजन गरिएको हो,” उनले भने।
पुँजीगत खर्चतर्फ १७ प्रतिशतले वृद्धि गरिएको स्मरण गराउँदै उनले साधारण खर्च घटाउने र पुँजीगत खर्च बढाउने क्रममा ‘ब्रेक लगाउनुपर्ने’ अवस्थालाई ध्यानमा राखिएको बताए।
सरकारले संघीय संरचनाको कार्यान्वयन सुनिश्चित गर्दै प्राथमिकतामा आधारित कार्यक्रमलाई बजेटमा स्थान दिएको भन्दै उनले सबै प्रदेश र पालिकालाई समेट्ने प्रयास गरिएको बताए।



