
बैंकिङ खबर/ इरानले सोमबार राति अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि काठमाडौंबाट कतार जाने उडान रोकिएका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान समेत ओमानको मस्कटमा अवतरण गरेको छ ।
राति ११ बजे उडान तालिका रहेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । कतार जाने यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् ।
एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ । यद्यपि कतारको नागरिक उड्डयन प्राधिकरणले भने हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ ।
कतारका नेपालीलाई सतर्क रहन आग्रह
कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन भनेको छ। सोमबार इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा हवाई हमला गरेपछि नोली दूतावासले आफ्ना नागरिकलाई सतर्क रहन सूचना जारी गरेको हो ।
‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ’, सूचनामा भनिएको छ, ‘कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ।’ कतारमा हाल झण्डै ४ लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् ।



