२०८२ असार ९ गते

टेक एन्ड पे व्यवस्था संशोधन हुन्छः ऊर्जामन्त्री

बैंकिङ खबर/ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अहिलेको टेक एन्ड पे व्यवस्था संशोधन हुने स्पष्ट पारेका छन्। सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले साना जलविद्युत् आयोजना र विद्युत् निर्यात सुनिश्चित भएका योजनाका लागि टेक अर पे उपयुक्त हुने भन्दै संशोधन प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।

उनका अनुसार जेठ २७ गते नै ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई औपचारिक पत्र पठाइसकेको छ। “नेपाल विद्युत् प्राधिकरणको सुझाव अनुसार १० मेगावाटसम्मका साना आयोजना र रन अफ रिभर योजनाको विद्युत खरिद सम्झौतामा टेक अर पे नै लागू हुने प्रस्ताव गरिएको हो,” उनले बताए।

त्यस्तै उद्योगीहरूसँगको बक्यौता उठाउने विषयमा पनि मन्त्री खड्काले स्पष्ट पारे। उनले बक्यौता संकलन प्रक्रियागत ढंगले गरिने बताउँदै, “यसमा कुनै भ्रमको ठाउँ छैन,” भने।

भारतसँगको विद्युत कारोबारका कारण लोडसेडिङ अन्त्य भएको भन्ने सांसदको जिज्ञासामा जवाफ दिँदै मन्त्री खड्काले नेपालले बर्खायाममा विद्युत् भारतमा बेच्ने र हिउँदमा किन्ने प्रणाली अपनाइएकाले लोडसेडिङ अन्त्य सम्भव भएको उल्लेख गरे। “यो परस्पर आदान–प्रदानको नतिजा हो, कुनै एक व्यक्तिको कारण होइन,” उनले प्रस्ट पारे। मन्त्री खड्काले नेपाल अहिले पनि विद्युत निर्यात गरिरहेको जानकारी पनि दिए।