Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

तन्नेरीमा धनी बनिएन भने बुढेसकालमा दुख पाइन्छः गगन थापा

२०८२ जेष्ठ ३० गते

बैंकिङ खबर/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवा पुस्ताले मेहनत नगरे देशको भविष्य कमजोर हुने बताएका छन्। नेपाल तामाङ धेदुङ संघको कोशी प्रदेशस्तरीय अधिवेशनलाई शुक्रबार इटहरीमा सम्बोधन गर्दै उनले युवालाई देश बनाउने मुख्य जिम्मेवारी लिन आग्रह गरेका हुन्।

उनले युवा पुस्ता काम गर्न विदेश जाँदा रुवाबासी गर्न नहुने बताए। ‘हाम्रा केटाकेटी बाहिर काम गर्न गएका छन्, यसमा रुवाबासी गर्नुपर्ने छैन। आज नेपाल तन्नेरीहरूको देश हो,’ उनले भने, ‘अहिलेका युवाले काम गरेनन् भने देशलाई पनि बुढ्यौली लाग्छ। तन्नेरीमा धनी बनिएन भने बुढेसकालमा दुख पाइन्छ।’

उनले युवालाई लक्षित गरेर नीति बनाउन र उनीहरूमा आशा जगाउन सरकारले काम गर्नुपर्ने बताए। ‘अबको १७–१८ वर्षमा नेपाल जवान हुँदैन। खर्बौं रुपैयाँ जवानहरूले बाहिरबाट कमाएर पठाइरहेका छन्। त्यो पैसा कसरी सदुपयोग गराउन सकिन्छ भनेर देश बनाउने मान्छेले सोच्नुपर्छ,’ उनले भने, ‘लुटको धन फुपुको श्राद्धजस्तो गर्नु हुँदैन।’