२०८२ जेष्ठ १० गते

भिजिट भिसा प्रकरणबारे गृहले भन्यो–मन्त्रालयको नेतृत्वको संलग्न छैन

बैंकिङ खबर/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा जाने युवाबाट रकम उठाउने गरिएको प्रसंगमा उठ्दै आएको प्रकरणमा गृह मन्त्रालयले प्रतिक्रिया दिएको छ । यो प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठाइँदै आएको थियो ।

मन्त्रालयले भिजिट भिसा प्रकरणमा मन्त्रालयको नेतृत्व संलग्न नरहेको जनाएको छ । शनिबार मन्त्रालयका सहसचिव छवि रिजालले एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जनाएका हुन् । साथै मन्त्रालयले यसलाई कपोलकल्पित, भ्रामक र आधारहीन समाचार भनेको छ । त्यस्ता समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

‘विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रियाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले भनेको छ, ‘यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ ।’

मन्त्रालयले विषयको गम्भीरतालाई मध्यनजर गर्न पनि भनेको छ । साथै सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिन आग्रह गरेको छ ।

‘यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ,’ मन्त्रालयले भनेको छ, ‘साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौँ ।’

मन्त्रालयले शान्ति सुरक्षा, अमनचयन कायम गर्न मन्त्रालय क्रियाशील रहेको जनाएको छ । साथै नीतिगत सुधार पनि गर्दै मन्त्रालयले जनाएको छ ।

‘मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको छ । मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको छ,’ मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।