
बैंकिङ खबर/ मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ९ वटा निर्णय गरेको छ । जसमा आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत भएको बताए ।
बैठकका निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्ति, केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्नेसम्मका विषय छ ।
बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समिति (पाँचौ संशोधन) आदेश २०८२ स्वीकृत गरेको छ । नेपाली सेनाको सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधि थप गर्ने भएको छ ।
बैठकले जेठ ११ गतेदेखि १९ गतेसम्म चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उद्योग मन्त्री दामोदर भण्डारीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।
सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनमा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन शहरी विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि सोही दिनको बैठकले गरेको छ ।



