२०८२ जेष्ठ ३ गते

भोजपुर पौवादुङका किसान अकबरे खुर्सानीखेतीमा आकर्षित

बैंकिङ खबर/ भोजपुर पौवादुङमाका किसान व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेतीतर्फ आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् ।

गाउँपालिकाले व्यावसायिकखेती प्रणालीका लागि आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानलाई सहजता भएको छ । यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले खुर्सानीखेती गरिरहेको कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए ।

करिब ९०० कृषकले व्यावसायिक अकबरे खुर्सानीखेती गरिरहेका छन् । खुर्सानीखेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएको उनले बताए ।

गत वर्ष खोर्सानी बिक्रीबाट करिब १८ करोड रुपैयाँ भित्रिएको तथ्याङ्क रहेको उनले बताए । यस वर्ष खेती विस्तार बढेकाले खुर्सानीबाट ३० देखि ३५ करोड रुपैयाँ भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ ।

किसानको राम्रो आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी रहेकाले गाउँपालिकाले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेर प्रोत्साहन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । गाउँपालिकाले आवश्यक सहयोगको कार्यक्रम सञ्चालनले गत वर्षको तुलनामा यस वर्ष खेती विस्तार बढेको उनको भनाइ छ ।

स्थानीय किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत शहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुर्सानी किसानको बगानबाट नै ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् ।

अकबरे खुर्सानीको बिक्रीबाट एक किसानले न्यूनतम एक लाख ५० हजार रुपैयाँदेखि सात लाखसम्म भित्र्याउने गरेको पौवादुङमा–४ बास्तिमका किसान ध्रुव राईले जानकारी दिए ।

खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि आफूले २० रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको उनको भनाइ छ । यस वर्ष खुर्सानीबाट आठ लाखदेखि १० लाख रुपैयाँ आम्दानी लिने लक्ष्य रहेको उनले बताए । बाह्र रोपनी क्षेत्रमा विस्तार गरेको खुर्सानीखेतीबाट गत वर्ष रु पाँच लाख आम्दानी गरेको उनको भनाइ छ ।

गाउँपालिकाले पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई खुर्सानीखेतीमा प्रोत्साहन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । किसानलाई आवश्यक प्रोत्साहन गरेसँगै गाउँपालिकाको मुख्य आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी स्थापित भएको उनको भनाइ छ ।

गाउँपालिकाले कृषि एम्बलुेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषि उपजको बजारीकरणका लागिसमेत काम गरिरहेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

गाउँपालिकाले खेती प्रणालीमा जोड दिएसँगै अकबरे खुर्सानीखेतीबाट मात्र करोडौँ भित्रिने अवस्था बनेको उनको भनाइ छ । खुर्सानीखेतीको क्षेत्रलाई विस्तारका लागि गाउँपालिकाले यस वर्ष ७५० किसानलाई ७० लाख रुपैयाँ बढीको मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरिएको अध्यक्ष राईको भनाइ छ ।