
बैंकिङ खबर/नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका छन्। शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रशारण लाइनमा समस्या आउँदा विद्युत् आपूर्तिमा अवरोध आएको बताए।
उनले बिहीबार बेलुकी ढल्केवर-मुजफ्फरपुर ४०० केभी डबल सर्किट लाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौंलगायतका केही स्थानमा विद्युत् आपूर्ति हुन नसेकेको स्पष्ट पारे।
भारतबाट सो लाइनमार्फत नेपालमा भइरहेको विद्युत् आयातसमेत केही समय रोकिएका कारण बिजुली जाने समस्या आएकाले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनले बताए। प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ सुरु हुने सम्भावना पूर्णरूपमा अस्वीकार गरेको छ।
कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याहरूलाई दीर्घकालीनरूपमा समाधान गरिने भन्दै यसका लागि केही समय लाग्ने बताए। उनले अहिले करिब १४ सय मेगावाट विद्युत् उत्पादन र पिक आवरमा २ हजार मेगावाट माग रहको जानकारी दिए। प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता लोड धान्नसक्ने अवस्था नरहेकाले पनि समय समयमा बिजुली जाने गरेको उनले बताए।
उनले आफू स्वयं प्रणाली नियन्त्रणमा बसेर हेर्दा प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता सीमामा पुगेको देखिएको उल्लेख गरे। जसका कारण उपत्यकाको माग धान्न अन्य क्षेत्रबाट आएको विद्युतलाई चार्ज गर्न खोज्दा लाइन ट्रिप हुने गरेको उनले बताए।