२०८२ बैशाख ३१ गते

हामीले पर्यटक भित्र्याउनै सकेका छैनौंः सागर पाण्डे(भिडियोसहित)

बैंकिङ खबर/ ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले सरकारले आगामी बजेटमा हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर पूर्णरूपमा हटाउनुपर्ने, पाँचतारे र उच्च श्रेणी होटलहरूमा लागू २ प्रतिशत विलासिता कर हटाउनुपर्ने, हवाई टिकटमा आउट स्टाण्डिङ ट्याक्स प्रणालीको कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

काठमाडौं सिटिसी महलमा मिडिया इन्टरनेशनलको विजनेश स्टुडियोको उद्घाटन क्रममा उनले एसिया क्षेत्रका देशहरुको पर्यटनलाई हेर्दा श्रीलंकाले फड्को मारेको बताए । नेपालमा पर्यटन लगायत सम्पूर्ण व्यवस्थालाई ‘रुल अफ ल’, उत्तरदायीत्व कमी भएको उनले बताए ।

आज ३० वर्षको अन्तरालमा नेपालमा ११ लाख पर्यटक मात्र भित्र्याउन सकिएको उनले बताए । उनले थपे, ‘नेपालमा हामीले पर्यटकलाई भित्र्याउन सकेका छैनौं । श्रीलंकाले २.३ मिलियन पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।’ समग्रमा पयर्टन व्यवसायीका धेरै समस्याहरु रहेको पनि उनले बताए । नेपाल एयरलाइन्सलाई कस्टुम्बर एयरलाइन्सको रुपमा विकास नगर्दासम्म चल्न नसक्ने पनि उनले बताए ।

उनले भने,‘नेपाल एयरलाइन्सका कहिले पांग्र बिग्रीएर बसेको हुन्छ । कहिले इन्जिन । जिम्मेवारी कसले लिने ?’ नेपाल एयरलाइन्सलाई रिभाइवल नगर्दासम्म पर्यटन क्षेत्रमा जति नै काम गरेपनि त्यो सम्भव नहुने उनले बताए । उनले भने,‘नेपाल एयरलाइन्सलाई विश्वासनीय बनाउन पर्‍यो र अर्को इन्फास्टकचर पनि ध्यान दिनुपर्यो ।’