२०८२ बैशाख ३१ गते

संसदमा माओवादीले खोज्यो अर्थमन्त्रीः राप्रपा सांसदले भने, ‘हुँदा पनि निदाउनुभयो, नभए पनि फरक पर्दैन’

बैंकिङ खबर/ प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री उपस्थित नभएपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका छन् । संसदमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ । छलफल चलिरहे पनि अर्थमन्त्री पौडेल भने बैठकमा थिएनन् ।

उनको नियमापत्ति सुन्दै सभामुख देवराज घिमिरेले संघीय संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल चलिरहेकाले अर्थमन्त्री पौडेल उपस्थित हुनुपर्ने बताए । तर, राष्ट्रियसभाको बैठक पनि चलिरहेकाले उताको बैठक सकेर आउने बताए । सभामुख घिमिरेले छिटो बैठकमा आउने जानकारी गराएर अर्थमन्त्री पौडेल राष्ट्रियसभामा गएको जानकारी दिए । त्यसपछि उनले बैठक निरन्तर अघि बढाए ।

बैठकमा राप्रपाका सांसद दीपक सिंहले मन्त्री पौडेलमाथि व्यंग्य गर्दै भने, ‘विनियोपजित विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामा छलफल चल्दै गर्दा अर्थमन्त्रीज्यू यहाँ हुनु हुन्न हिजो भए पनि सुतिराख्नुभएको थियो । हुनु र नहुनुमा केही फरक पर्दैन,’ उनले भने । मंगलबार संसद बैठकमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहँदा अर्थमन्त्री पौडेल निदाएका थिए ।