
बैंकिङ खबर/सञ्चालनमा आएको एक महिनामै हेटौँडा सिमेन्ट उद्योग फेरि बन्द भएको छ। उपकरण बिग्रिएको भन्दै हेटौंडा सिमेन्ट उद्योगले शुक्रबारदेखि आफ्नो उत्पादन बन्द गरेको हो।किलमिलको केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकारण खरिद गरी जडान गर्नुपर्ने भएपछि एक हप्ताका लागि हेटौँडा सिमेन्ट उद्योगले शुक्रबारदेखि आफ्नो उत्पादन बन्द गरेको निमित्त महाप्रबन्धकन विनकुमार कर्णले जानकारी दिए ।
सो उद्योगमा आर्थिक सङ्कटका कारण कच्चापदार्थ कोइलालगायत अन्य उपकरण खरिद गर्न नसकिएको भन्दै विगत छ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन । तर चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन शुरु गरेको थियो।
हाल सो उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको निमित्त महाप्रबन्धक कर्णले बताए । तत्कालीन सरकारले यस उद्योग वि.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना गरेको थियो । उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक सिमेन्ट उत्पादन सुरु गरेको थियो ।
सरकारले उद्योग निर्माणका लागि रु एक अर्ब ५० करोड लगानी गरेको थियो । सो उद्योगले साविकमा सिमेन्ट उत्पादन दैनिक १८ हजार बोरा गरेको भए पनि विभिन्न उपकरण जीर्ण भएका कारण हाल दैनिक १२ हजार बोरा मात्र उत्पादन हुने गरेको उद्योग व्यवस्थापनले जनाएको छ ।
उक्त उद्योगमा अहिले प्रशासन, लेखा भण्डारण, प्राविधिक र मजदुर कर्माचारी गरी करिब दुई सय जनाले स्थायी रोजगारीको अवसर पाइरहेका छन् । उद्योगले मकवानपुरको भैँसे, ओखरेखानी र धादिङको जोगिमाराबाट दैनिक चुन ढुङ्गा ढुवानी गरी ल्याउने गरेको छ ।