Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बिचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमाः पूर्वअर्थमन्त्री पुन

२०८२ बैशाख २५ गते

बैंकिङ खबर/नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आफूहरुले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको बताएका छन्।

बिहीबार आयोजित पूर्वबजेट छलफल कार्यक्रममा पुनले बिचौलिया व्यक्तिभन्दा प्रवृत्ति भएको बताए। राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्थतन्त्रमा एकाधिकार र मिलेमतो गर्ने आसेपासे प्रवृत्तिलाई आफूहरुले बिचौलिया भन्दै आएको उनको भनाइ थियो।

पुनले बिना लगानी अर्थोपार्जन गर्नेहरु बिचौलिया भएको स्पष्ट गर्दै लगानी गरेर व्यवसाय गर्नेहरुले व्यवसायीलाई नै बिचौलिया आरोपित गरिएको अर्थमा नबुझ्न आग्रह गरे। बिचौलिया प्रवृत्ति रोक्न नसके मुलुकले आर्थिक रुपमा अझै नराम्रो अवस्थाको सामना गर्नुपर्नेमा पुनले जोड दिए।

‘हामीले बिना लगानी राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर फाइदा लिने प्रवृत्तिलाई बिचौलिया भनेका हौँ’, पुनले भने, ‘कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरेका होइनौँ। यो प्रवृत्ति परिवर्तन नगरेसम्म आर्थिक सुधार सम्भव छैन।’

पुनले निजी क्षेत्रलाई चालक सिटमा राखेर सरकारले काम गर्नुपर्ने उल्लेख गरे। रेफ्रीको भूमिकामा रहनुपर्ने नियामक निकायहरु आफै खेलाडी बनेर मैदानमा उत्रिने अहिलेको प्रवृत्तिले अर्थतन्त्रलाई नोक्सान गर्ने भएकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए।