
बैंकिङ खबर/ प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको टेन्डर प्रक्रियामा मिलोमतो भएको भन्दै ऊर्जामन्त्री दीपक खड्कामाथि छानबिन गर्न माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले यसको मूल्य पहिले नै लिक भइसकेको समेत बताए। ‘त्यो सार्वजनिक खरिद नियमावली पनि विपरित छ, यो विषय अख्तिारमा पनि गएको छ,’ मोदीले भने, ‘यो विषयमा सम्बन्धित मन्त्रीसहित मिलोमतो भएको हुनाले यसको छानबिन गर्नुपर्छ।’
जगदुल्ला जलविद्युत आयोजनाको टेन्डरमा आयोजनाका प्रमुख कार्यकारी अधिकृत र ऊजामन्त्रीको मिलोमतो भएको सञ्चारमाध्यममा आएको उनको भनाइ छ। ‘जदगुल्ला जलविद्युत आयोजनाको टेन्डर प्रक्रियामा धेरै मिलोमतो भइरहेको सवालमा धेरै सञ्चारमाध्यममा प्रकाशित भइरहेको छ,’ मोदीले भने, ‘यसमा मूल्य पहिले नै लिक भइसकेको थियो। जगदुल्लाको आर्थिक प्रस्ताव गर्दा ऊर्जा मन्त्रालयका मन्त्री र जगदुल्ला जलविद्युतको प्रमुख कार्यकारी अधिकृतको मिलेमतोमा टेन्डर प्रक्रियमा सामेल भएको छ भन्ने कुरा विभिन्न सञ्चारमाध्यममा आइरहेको छ।’
