
बैंकिङ खबर/प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मुलुक आर्थिक लयमा फर्किएको बताएका छन् । हाल देखिएका सकारात्मक आर्थिक सूचकहरूलाई निरन्तरता दिँदै विकासोन्मुख राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सम्भव रहेको उनको भनाइ छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा डा.खतिवडाले आन्तरिक ऋणको माध्यमबाट अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताए । “आन्तरिक ऋण लिनुको विकल्प छैन, ठोस परियोजनाहरू निर्धारण गरी अघि बढ्नुपर्छ,” उनले भने ।
उनका अनुसार हालै सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि, स्टार्टअप र उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ । जेन्जी पुस्तालाई लक्षित गरी बनाइएको स्टार्टअप कार्यक्रमले आन्तरिक रोजगारीको अवसर सृजना गर्न सक्ने विश्वास उनले व्यक्त गरे ।
पूर्व अर्थमन्त्री समेत रहेका खतिवडाले सार्वजनिक खरिद ऐनमा संशोधन गरी सरकारी खर्चको मितव्ययिता सुनिश्चित गरिने जानकारी समेत दिए । “सफ्टवेयर खरिदमा अनावश्यक खर्च बढेको छ, खरिद प्रणालीमा पारदर्शिता आवश्यक छ,” खतिवडाले उल्लेख गरे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रेशम थापाले आगामी बजेटले अर्थतन्त्रलाई पुनः लयमा ल्याउन सबै क्षेत्रलाई चलायमान बनाउने खालको नीति समावेश गर्नुपर्ने सुझाव दिए । उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा अर्थशास्त्री, शिक्षाविद् तथा प्रविधि विज्ञहरूले नीति तथा कार्यक्रमको समीक्षा गर्दै आगामी बजेटले सुशासन, नवप्रवर्तन र रोजगारी सिर्जना जस्ता विषयमा प्राथमिकता दिनुपर्ने धारणा राखे ।
अन्त्यमा कार्यक्रमका सभापति एवं आइविएन मिडिया एण्ड रिसर्च प्रालिका प्रवन्ध निर्देशक हृदयराज गौतमले अर्थको अर्थ कार्यक्रमले बजेट निर्माण र आर्थिक नीति निर्माणमा सघाउने उद्देश्यले कार्यक्रम निरन्तर गर्दै आएको जानकारी दिए । सो अवसरमा ‘अर्थको अर्थ’ कार्यक्रमको ३२ औं स्मारिका पुस्तक पनि विमोचन गरिएको थियो ।