Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

निजी क्षेत्र प्रवर्द्धनका लागि वैदेशिक सहायता परिचालन गर्ने सरकारको नीति सार्वजनिक

२०८२ बैशाख २२ गते

बैंकिङ खबर/सरकारले निजी क्षेत्रको विकास र निजी पूँजी आकर्षित हुने गरी वैदेशिक सहायता परिचालन गर्ने भएको छ। वैदेशिक सहायता नीति-२०८२ जारी गर्दै सरकारले निजी क्षेत्रको विकास र निजी पूँजी आकर्षित हुने गरी वैदेशिक सहायता परिचालन गर्ने नीति अघि सारेको हो। त्यसमा वैदेशिक सहायता परिचालनका नवीन उपकरणहरूको उपयोग गरी निजी क्षेत्रको विकासमा सघाउ पुर्याउने तथा निजी पूँजी आकर्षित गर्ने रणनीति बनाइएको छ।

सार्वजनिक निजी साझेदारीमा पनि वैदेशिक सहायता परिचालन गर्ने नीति सरकारको छ। ‘नेपाल सरकारले तोकेका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरू सार्वजनिक निजी साझेदारीअन्तर्गत सञ्चालन गर्दा सोमा संलग्न सार्वजनिक क्षेत्रलाई पूँजीको अभाव परिपूर्ति गर्न नेपाल सरकार जमानी बसी ऋण परिचालन गर्न सक्नेछ,’ नीतिमा भनिएको छ ।

सार्वजनिक निजी साझेदारीलाई सम्भाव्य र आकर्षक बनाउन सोमा संलग्न निजीक्षेत्रलाई बाह्य पूँजीमा पहुँच स्थापित गर्न सहजीकरण गर्ने, यसमा सम्भाव्यता न्यून परिपूरक कोष (भायविलिटि ग्याप फण्डिङ्ग) को पनि व्यवस्था गर्ने नीति छ ।

सार्वजनिक निजी साझेदारीलाई आर्थिक रूपमा सम्भाव्य र आकर्षक बनाउन सरकारले वैदेशिक सहायता परिचालन गरी पूँजी लगानी गर्न, पूँजीगत अनुदान दिन वा अन्य विधिमार्फत वित्तीय जोखिम न्यूनीकरणमा साझेदारी गर्न सकिने सहायता नीतिमा उल्लेख छ ।