२०८२ बैशाख १९ गते

कोशी प्रदेश लगानी सम्मेलनः ४६ परियोजनामा डेढ खर्ब लगानी प्रतिबद्धता

बैंकिङ खबर/कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा प्रदेश सरकारले शोकेसमा राखेका ७१ वटा परियोजना मध्ये ४६ वटा परियोजनामा एमओयू गरिएको छ। शुक्रबार लगानी सम्मेलनको समापन कार्यक्रममा लगानीकर्ता र कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। प्रदेश सरकारले शोकेसमा राखेका १ खर्ब ७३ करोडका परियोजनामध्ये १ खर्ब ५२ अर्ब १६ करोडका परियोजनामा एमओयू भएको छ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिका आठ परियोजनामा ३ अर्ब, ऊर्जाका तीन परियोजनामा आठ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटनको १० परियोजनामा ३४ अर्ब १९ करोड र फोहोर मैला व्यवस्थापनका २ वटा परियोजनामा ६० करोडको एमओयू भएको छ। निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना एमओयू भएका छन्।

कोशी प्रदेशमा एमओयू भएको सबैभन्दा ठूलो परियोजना उदयपुरको क्लिङ्कर म्यानुफ्याक्चर प्लान्ट रहेको छ। यसको अनुमानित लागत ३२ अर्ब रहेको छ। यस्तै एक अर्बभन्दा बढी लागतका परियोजनाहरूमा सुनसरी र उदयपुरको ग्रीन युरिया परियोजना २६ अर्ब, ताप्लेजुङको माउन्टेन पडवेको लागत २५ अर्ब रहेको छ। यस्तै सुनसरीको पशुपति इनर्जी परियोजना १ अर्ब ६० करोड, उदयपुरको एग्रो मेल्टिक सोलार परियोजना ५ अर्ब ६० करोड रुपैयाँ लागतको रहेको छ।

यस्तै १ अर्ब ४२ करोड लागतको पाँचखपन हाइड्रोपावर, १ अर्ब १६ करोडको हर्बल प्रोसेसिङ प्लान्ट, १ अर्ब लगानीको कियान एग्रिकल्चर, ४ अर्ब लगानीको धनकुटा र उदयपुरको बायो इथानल परियोजना रहेका छन्। यस्तै २ अर्ब ४८ करोडको आरआर अस्पताल, २ अर्ब ३० करोडको एक्सिस होटल, १ अर्ब ७५ करोडको ५ स्टार होटल, १६ अर्बको बराहक्षेत्र केबलकार, ५ अर्ब लागतको कोशी पडवे परियोजना, १० अर्ब लागतको हलेसी केबलकार, २ अर्ब ३३ करोड लागतको रोयलटन होटल, ४ अर्ब २८ करोड लागतको बर्जुताल प्रोजेक्ट रहेका छन्।