
बैंकिङ खबर/ देशभित्रै उद्यमशीलता प्रवर्द्धन गरी युवा रोजगारी सृजना गरिने भएको छ। शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायन हुनबाट बचाउने सरकारको नीति रहेको बताए।
उनले आगामी दशकलाई आन्तरिक रोजगारी सरकारी रुपमा मनाउने बताए। रोजगारी तथा ज्याला रोजगारीको माध्यमबाट आन्तरिक रोजगारीको सृजना गर्ने सरकारको नीति रहेको छ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन नीति,कानुन र कार्यविधि संशोधन तथा तर्जुमा गरिने उनले बताए।
राष्ट्रपति पौडेलका अनुसार अन्तर्राष्ट्रिय श्रमबजारका मागअनुसार सीपयु्क्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यवसायी प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गरिनेछ। सबै प्रकृतिका जुनसुकै सेवा सर्तमा रोजगारीमा आवद्ध भएकालाई अनिवार्यरुपमा योगदानमा आधारित सामाजिक कोषमा आवद्ध गर्नेगरी कोषको भूमिका र दायरलाई विस्तार गर्ने सरकारको नीति रहेको छ।