२०८२ बैशाख १६ गते

‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित

बैंकिङ खबर/‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मङ्गलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

मङ्गलबार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई संसद्का बहुमत सांसदहरूले सहमति जनाएका हुन् ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरूमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताए ।

उनले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरू पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताए । उनले विधेयकलाई समृद्ध बनाउनको लागि सुझाव दिने सांसदहरूलाई धन्यावाद समेत दिए । विधेयकले कानुनको रूप लिएसँगै राजश्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको दाबी छ ।