२०८२ बैशाख १० गते

सरकारले ओपेक फन्डबाट १०० मिलियन अमेरिकी डलर ऋण लिने

बैंकिङ खबर/सरकारले सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट (ओफिड) बाट १०० मिलियन अमेरिकी डलर बराबरको रकम ऋण सहायता लिनको लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।

साेमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। उल्लिखित ऋणसम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रूप दिन नेपान सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने पनि मन्त्रिपरिषद्‌ले निर्णय गरेको छ।

यस्तै, मन्त्रिपरिषद् बैठकले वैदेशिक सहायता परिचालन नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।उनले सार्वजनिक खरिद (चौधौं संशोधन) नियमावली, २०८२ समेत स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।

उनकाअनुसार बैठकले मुलुकमा सुशासन कायम गर्न प्रधानमन्त्रीको अध्यक्षतामा पन्ध्र सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरेको छ। उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका प्रमुख सचिव केदारनाथ शर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको पनि बताए।