२०८२ बैशाख १० गते

सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउने

बैंकिङ खबर/ सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ। बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकसँग छलफलपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैशाख १९ गते सरकारले नीति तथा कार्यक्रम पेश गर्ने गरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको जानकारी दिए।

उनले बर्तौलाले विद्यालय शिक्षा विधेयकमा सदन पेश हुने बित्तिकै पारित गर्ने विषयमा सहमति भएको जानकारी दिए। बर्तौलाका अनुसार वैशाख १२ गते बस्ने पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ।

यसैगरी प्रतिनिधिसभाको आगामी अधिवेशनमा सार्वजनिक बिदाका दिन बाहेक अन्य सबै दिन बैठक सञ्चालन गर्नेबारे छलफल भएको छ। शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए। सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए। त्यस्तै उनले विद्यालय शिक्षा विधेयक सदनमा आएपछि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा समेत जोड दिए । बैठकले सभामुखको प्रस्ताव अनुमोदन गरेको छ ।

सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।