
बैंकिङ खबर/ परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्यको विकास हुँदै गएको बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीति गर्नेहरुकै कारण मुलुकमा सधैं असहज परिस्थिति बन्ने गरेको तर्क गरिन । उनले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको बताउँदै नेपाललाई हेर्ने विश्व समाजको नजर एकदमै सकारात्मक रहेको बताइन ।
राणाले भनिन्, ‘किन हाम्रो देशमा सधैं संघर्ष हुन्छ । कहिले सडक आन्दोलन, कहिले धर्ना । किन हामी यसमा समय खर्च गरिरहेका छौं ? यो एउटा गम्भिर प्रश्न बन्दै गएको छ । कहिले काँही लाग्छ कि हामी राजनीति गर्ने मान्छेहरु नै यसको दोषि हो कि । जहिले पनि एउटा किसिमको असहज परिस्थिति बनाइराख्ने, यो पुगेको छैन, त्यो पुगेको छैन, देश खत्तम भयो भन्ने सोचको विकास गरेर लग्ने यो हामी राजनीति गर्नेहरुकै दोष हो कि जस्तो पनि लाग्छ । अहिले म परराष्ट्रमन्त्री भएपछि धेरै देशहरु गए । धेरै देशको मान्छेहरुसँग मैले आफ्नो कुराहरु आदान प्रदान गर्ने मौका पाए । तर अहिलेसम्म एउटा मान्छे पनि भेटिन जसले तिम्रो देश खत्तम भयो, विकास भएको छैन, तिमीहरुको देशमा आउँदिन भन्ने एउटा पनि मान्छे भेटिनँ । हामी नेपालीलाई हेर्ने दुनियाको नजर एकदमै सकारात्मक छ । हामी देशभित्र बस्नेले चाँही किन नकारात्मक बनाइरहेका छौं ।’
सबैले आफ्नो मुुलुकलाई चिनेर समृद्धिको यात्रामा अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।



