बैंकिङ खबर/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहन रुपमा काम गरिरहेको बताएका छन्।
मंगलबार ललितकला मेला २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले सबै कुरामा निराश भएर मात्रै नहुने विचार व्यक्त गरे। ‘सबै कुरामा हामी निराश भएर मात्रै हुँदैन,’ पाण्डेले भने, ‘हामीले अघि बढ्दै जाँदा कुनै दिन हाम्रा भव्य प्रदर्शन स्थलहरु हुनेछन्। हामीले भौतिक रुपमा पनि हाम्रा संरचनाहरुलाई दर्विलो गरी निर्माण गर्नेछौँ।’
अहिले देशको अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको जिकिर गरे। ‘हामी अफ्ठ्यारो अवस्थामा छौँ,’ उनले भने, ‘देशको अर्थतन्त्र उठाउनुपर्ने, देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने। त्यो दिशामा सरकारले मसिनो ढंगले मेहनत र प्रयास गरिरहेको छ। त्यसको प्रतिफल बिस्तारै प्राप्त गर्दै जानेछौँ।’




