April 15th, 2025

चैतमा करिब ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

बैंकिङ खबर/ चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले तथ्यांक सार्वजनिक गरेको छ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ११ करोड ८५ लाख १७ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो।

स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्रुभल रुटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ। अटोमेटिक रुटबाट २२४ उद्योगमा २ अर्ब ८९ करोड ७९ लाख र अप्रुभल रुटबाट २५६ उद्योगमा ५५ अर्ब ७ करोड ७४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ।

गत वैशाखमा तेस्रो लगानी सम्मेलनबाट विभागले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो।  तथ्यांकअनुसार चैतमा मात्रै १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। चालू आर्थिक वर्षमा सबैभन्दा बढी फागुनमा १७ अर्ब ७९ करोड ८६ लाख रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ।

गत आर्थिक वर्ष नेपालमा ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र एफडीआईबाट भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। आर्थिक वर्ष २०७८÷७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो।