April 15th, 2025

युवा रोजगारी बढाउन पर्यटन र जलविधुतमा लगानी आवश्यकः अध्यक्ष ढकाल

बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर सुरु गरेको ठूला परियोजना सञ्चालनको तयारीमा रहेको बताएका छन् ।

गतवर्ष ढोरपाटन उपत्यकामा भएको महासंघको तेस्रो कार्यकारिणी बैठकले स्थापना गरेको उक्त परियोजनाले जलविद्युत् र पर्यटनमा लगानी गर्ने र समस्यामा रहेका परियोजनालाई सहयोग गर्ने उनले जानकारी दिए ।

मुलुकलाई आर्थिक रुपमा सुदृढ आत्मनिर्भर गराउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण निर्माण गर्न सकारात्मक सन्देश दिने सञ्चार सामाग्री प्रकाशन गनुपर्ने धारणा राखे ।

उनले युवा रोजगारी बढाउन पर्यटन र जलविद्युतमा लगानी आवश्यक भएको बताए । त्यसैका लागि महासंघको अगुवाइमा गतवर्ष १० अर्बको ठूला परियोजना स्थापना गरिएको उनको भनाइ छ ।

अध्यक्ष ढकालले पछिल्लो समय सरकारले लगानीमैत्री वातावरणको सुरुवात गरेको बताए । नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आउन खोजी रहेकाले सरकारले वातावरण बनाउनुपर्ने उनको धारणा थियो । ढकालले विदेशीले नेपालमा लगानी बढाएमा रोजगारी बढ्ने मात्र नभइ संसारभर सकारात्मक सन्देश जाने बताए ।

बैंकहरुले ब्याज घटाउने, कालोबजारी ऐन खारेजीसहितका एजेण्डा पूरा गर्न सरकारले थालिसकेको उनको भनाइ छ । जसका कारण विश्वव्यापी आर्थिक संकटको असर नपरोस् भन्ने चाहेको महासंघका अध्यक्ष ढकालले बताउनुभयो । ढकालले नयाँ सोच र परियोजना बनाएर बसेका उद्यमीलाई पूँजी अभाव भएमा ठूला परियोजनामार्फत साथ दिने उल्लेख गरे ।