April 11th, 2025

आगामी ५ वर्षसम्म भत्ता नबढाउन सिफारिस

बैंकिङ खबर/उच्चस्तरीय आर्थिक सुझाव आयोगले आगामी ५ वर्षसम्म सामाजिक सुरक्षा भत्ता नबढाउन सुझाव दिएको छ । शुक्रवार अर्थमन्त्री विष्णु पौडेललाई आयोगका संयोजक पूर्व सचिव रामेश्वर खनालले बुझाएको प्रतिवेदनमा आगामी पाँच वर्ष सामाजिक सुरक्षा भत्ता नबढाउन सुझाव दिइएको हो ।

‘आगामी पाँच वर्षसम्म सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्ने, तत्पश्चात् मूल्यवृद्धिको आधारमा प्रत्येक दुई वर्षमा मात्र भत्ता वृद्धि गर्ने’, आयोगको सिफारिसमा उल्लेख छ ।

त्यस्तै, उच्चस्तरीय आर्थिक सुझाव आयोगले जेष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष बनाउन सुझाव दिएको छ । सामाजिक सुरक्षा ऐन २०७५ संशोधन गरी ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष बनाउन आयोगले सुझाव दिएको हो । यस्तै, सो ऐनमा व्यवस्था भएका भत्ताबाहेक अन्य भत्ता बजेटमा घोषणा नगर्न पनि सुझाइएको छ ।