April 8th, 2025

ऋण हुन्छ भनेर डराएर हुन्न, हाम्रो पैसाले विकास गर्न सकिन्नः प्रधानमन्त्री

बैंकिङ खबर/प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण हुन्छ भनेर डराएर देशको विकास गर्न नसकिने दाबी गरेका छन्। मङ्गलवार मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली देशको वर्तमान आयले मात्रै विकासको सम्भावना नरहेको भन्दै यस्तो बताएका हुन्।

‘ऋण हुन्छ भनेर विकास नगर्ने हो भने त हाम्रो पैसाले विकासको सम्भावना नै छैन त,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसो भएर हामीले साधारण तर्फको खर्च कटाउने, मितव्ययिता अपनाउने।’ अब प्रशासनिक खर्चमा हौसिएर जे पनि हुन्छ भनेर खर्च गर्ने सम्भावना नरहेको पनि प्रधानमन्त्री ओलीले बताए।

‘किनभने हामीसँग त्यस प्रकारको स्थिति छैन,’ उनले भने। अहिले एक सय रुपैयाँको विकासको काम गर्दा दुई सय रुपैयाँको प्रशासनिक खर्च भइरहेको पनि प्रधानमन्त्री ओलीले दाबी गरे। उनले भने, ‘यो अवस्था भनेको कार्यान्वयनमा दोब्बर खर्च हुने, अनि त्यसको प्रतिफलका लागि कतिको काम भन्दा एक करोडको काम गर्दा दुई करोड खर्च हुने स्थिति उपयुक्त स्थिति होइन।’ यसलाई सच्याएर जान जरुरी रहेको उनले बताए।

अहिले ऋण लगायो भनेर गलत भाष्यमा आत्तिन नहुने पनि प्रधानमन्त्री ओलीले बताए। ‘संसारमा अनुपातमा सबैभन्दा बढी ऋण जापानको छ। ऋणको हिसाबले भन्ने हो भने हाम्रा छिमेकी भन्दा हाम्रो ऋण कम छ। राष्ट्रिय वार्षिक आयको तुलनामा हाम्रो ऋण कम छ। २४–२५ प्रतिशतको तुलनामा होला,’ उनले भने, ‘राष्ट्रिय आयको ५० प्रतिशतसम्मको ऋणलाई त्यस्तो डरलाग्दो मानिदैन्। यदि त्यसलाई सावधानीका साथ लिएको छ र प्रयोग गरिएको छ भने।’

जापानको ऋण हेर्नुभयो भने राष्ट्रिय आयभन्दा बढी हुनसक्ने पनि उनले दाबी गरे । उनले भने, ‘तर, उ त विकसित देश छ। विकास गरेपछि आम्दानी हुन्छ नि त। आम्दानी भएपछि तिर्न सकिन्छ।’