April 3rd, 2025

एलन मस्क संसारकै धनी, यस्तो छ उनको रोचक जीवनी

 

बैंकिङ खबर/ इलन मस्क संसारकै धनीहरूको सूचीको पहिलो स्थानमा परेका छन् । फोर्ब्सले यो वर्ष २०२५ का लागि तयार पारेको सूचीमा मस्क ३ खर्ब ४२ अर्ब अमेरिकी डलर सम्पत्तिसहित पहिलो स्थानमा परेका हुन् ।

अमेरिकाका ५३ वर्षीय मस्कले टेस्ला, रकेट निर्माता कम्पनी स्पेस एक्स, आर्टिफिसियल इन्टिलिजेन्स स्टार्टअप एक्सएआई लगायत सात कम्पनी हाँकिरहेका छन् । त्यस्तै सामाजिक सञ्जाल एक्स (ट्विटर) पनि उनको कम्पनी हो ।

दोस्रो नम्बरमा २ खर्ब १६ अर्ब डलर सम्पत्तिसहित सामाजिक सञ्जाल फेसबुकका सञ्चालक अमेरिककाकै ४० वर्षीय मार्क जुकरबर्ग परेका छन् । तेस्रो स्थानमा अमेरिकाका जेफ बेजोस छन् । प्रविधि कम्पनी अमेजनका सञ्चालक ६१ वर्षीय बेजोसको सम्पत्ति २ खर्ब १५ अर्ब डलर बराबर छ ।

त्यसैगरी चौथो स्थानमा प्रविधि कम्पनी ओराकलका सञ्चालक अमेरिकाकै ८० वर्षीय ल्यारी इलिसन परेका छन् । उनको सम्पत्ति १ खर्ब ९२ अर्ब डलर बराबर छ । त्यस्तै १ खर्ब ७८ अर्ब डलर कुल सम्पत्तिसहित पाँचौं स्थानमा फ्रान्सको बर्नार्ड आर्नो एन्ड फेमिली, १ खर्ब ५४ अर्ब डलर कुल सम्पत्तिसहित अमेरिकाका वारेन बफेट छैटौं, १ खर्ब ४४ अर्ब डलर सहित गुगलका मालिक अमेरिकाका ल्यारी पेज सातौं, गुगलकै अर्का मालिक अमेरिकाकै सर्गे ब्रिन १ खर्ब ३८ अर्ब डलर सहित आठौं, १ खर्ब २४ अर्ब डलर सहित स्पेनको जारा कम्पनीका मालिक अमान्सियो ओर्टेगा नवौं र माइक्रोसफ्टका मालिक अमेरिकाका स्टिभ बाल्मर १ खर्ब १८ अर्ब डलर कुल सम्पत्तिसहित दसौं स्थानमा परेका छन् ।

भारतीय अर्बपतिहरू कोही पनि शीर्ष १० भित्र पर्न सकेनन् । भारतका सबैभन्दा धनी मुकेश अम्बानी फोर्ब्स सूचीको १८ नम्बरमा परेका छन् । उनको सम्पत्ति ९२ अर्ब ५० करोड डलर बराबर छ ।

भारतका दोस्रो धेरै सम्पत्तिका मालिक गौतम अडानी सूचीको २८ नम्बरमा परेका छन् । उनको सम्पत्ति ५६ अर्ब ३० करोड डलर बराबर छ ।

त्यसैगरी सामाजिक सञ्जाल टिकटकका सञ्चालक चीनका ४१ वर्षीय झाङ यिमिङ फोब्र्स सूचीको २३ नम्बरमा छन् । उनका कुल सम्पत्ति ६५ अर्ब ५० करोड डलर बराबर छ ।

नेपाली उद्योगपछि विनोद चौधरी यो वर्ष १७६३ स्थानमा परेका छन् । उनको कुल सम्पत्ति २ अर्ब अमेरिकी डलर अर्थात् २ खर्ब ७४ अर्ब रुपैयाँ बराबर रहेको छ ।

चौधरी फोब्र्सको सूचीमा पर्ने नेपालकै पहिलो डलर अर्बपति हुन् । उनको उद्योग, बैंक तथा वित्तीय संस्था, होटल, अटोमोबाइल, चाउचाउ लगायत क्षेत्रमा लगानी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ७००औं स्थानमा अटाएका छन् । ७८ वर्षीय ट्रम्पको कुल सम्पत्ति ५ अर्ब १० करोड डलर बराबर रहेको छ । उनी घरजग्गा व्यवसायी हुन् ।

यस्तो छ उनको जीवनी

दक्षिण अफ्रिकाको प्रेटोरियामा जन्मिएका इलोन मस्क हाल संसारकै सबैभन्दा धनी एवम् दुरद्रष्टा उद्यमी बन्न पुगेका छन् । उनको सानैदेखि उद्यमशीलताप्रति निकै चासो र लगाव थियो । यसको प्रेरणाको स्रोत उनका इन्जिनियर पिता नै थिए । आमाको हौसला र प्रेरणा उनको उद्यमशीलतामा हासिल गरिएको उपलब्धिका लागि अर्को अनुपम स्रोत थियो ।

उनका आमा बाबुले इलोनको उद्यमशीलताप्रतिको यो अभिरुचीमा गहिरो गरी ध्यान दिएर यसलाई प्रवद्र्धन गरिरहेका थिए । इलोनले १० वर्षको हुँदा कम्प्युटरमा उद्यम कार्यक्रम टाइप गर्न र सेट गर्न सिकिसकेका थिए । १२ वर्षको उमेरमा त उनले ‘ब्लास्टर’ नामक भिडियो गेम निर्माण गरेर (सन् १९८३ मा) ५०० डलरमा बेचिसकेका थिए ।

सन १९८८ मा प्रेटोरियाबाट क्याम्पस शिक्षा सकिसकेपछि उनी त्यहींकै विश्वविद्यालयमा भर्ना भए । केही समयपछि उनी क्यानडाको क्विन्स विश्वविद्यालयमा गए । त्यसपछि उनी अमेरिकास्थित पेन्सलभेनियाको ह्वार्टन स्कूल अफ बिजनेसमा अध्ययनका लागि भर्ना भए । उनी त्यहाँ एक आईटी (सूचना तथा प्रविधि) कम्पनीसँग सहकार्यमा जुटे ।

त्यहाँ उनीहरुले ‘जीप टु’ सफ्टवेयर प्रयोग गरेर पत्रपत्रिका तथा अनलाइन चलाउन थाले । यसले दिएको सेवा र सुविधालाई लिएर यसको निकै माग बढ्न थाल्यो । यसको मूल्य ३४० मिलियन आँकलन गरिएको थियो । यो सर्वाधिक सेवाप्रदायी सफ्टवेयर बनिसकेको थियो । उनीहरुले एक्स डटकम सञ्चालनमा ल्याएका थिए ।

मस्कको व्यवसायिक सुरुआत खासमा २७ वर्षको उमेर (सन् १९९९) मा सुरु भयो जब उनी र उनका भाइ किम्बलले आफ्नो सफ्टवेयर कम्‍पनी ‘जिप-२’ का लागि एक सफल डिल फेला पारे। त्यसबाट प्राप्त पैसालाई मस्कले एउटा नयाँ कम्पनी स्थापना गरे जसको नाम थियो- एक्स डट कम। पैसा ट्रान्सफर गर्ने व्यवस्थामा यसले क्रान्ति ल्याउने उक्त कम्पनीको दाबी थियो।

मस्कको सोही कम्पनी आज ‘पे-पल’ को नामले चिनिन्छ, जसलाई उनले स्थापना गरेको तीन वर्ष पूरा नहुँदै सन् २००२ मा ‘इ-बे’ ले खरिद गरेको थियो। त्यसवापत मस्कले १६.५ करोड अमेरिकी डलर पाएका थिए। यो उनको करिअरको ठूलो उपलब्धी थियो।

त्यसपछि मस्कले अन्तरिक्ष अन्वेषणको प्रविधिमा काम गर्न सुरु गरे। उनको उक्त प्रोगामलाई ‘स्पेस-एक्स’ को नाम दिइयो, जसले ‘मान्छे आगामी दिनमा अन्य ग्रहमा पनि बस्न सक्छन्’ भन्यो। सन् २००४ मा मस्कले विद्युतीय कार कम्पनी टेस्ला स्थापना गरे र भने – ‘भविष्यमा सबैथोक विद्युतीय हुनेछ, अन्तरिक्षमा जाने रकेट पनि। र, टेस्लाले यो परिवर्तन ल्याउनेमा अहम् भूमिका निर्वाह गर्नेछ।’

मस्कको बिजनेसप्रतिको ‘एटिट्युड’ अर्थात् व्यापार र आफ्नो कामका सवालमा अलग दृष्टिकोण नै उनको सफलताको राज भएको बीबीसीका संवाददाता जस्टिन रलेटले उल्लेख गरेका छन्।

केही वर्षपहिले रलेटले गरेको साक्षात्कारमा मस्कले भनेका थिए, ‘मलाई थाहा छैन मसँग कतिको सम्पत्ति छ। यो नोटको बिटो भएजस्तो होइन। टेस्ला, स्पेस एक्स र सोलार सिटीमा मेरो हिस्सेदारी र बजारमा त्यसको केही मूल्य छ। तर मलाई यो सबले कुनै फरक पर्दैन, किनकि मेरो काम गर्नुको लक्ष्य यो होइन।’

मस्क भन्छन् कि, उनी मंगल ग्रहमा एउटा ‘बेस’ (बस्ती) बनाउनमा आफ्नो पुँजीको सबैभन्दा ठूलो हिस्सा खर्चिन चाहन्छन् र उनले यस मिशनलाई सफल बनाउन आफ्नो सारा सम्पत्ति लगाए भने यसमा उनी स्वयंलाई कुनै आश्चर्य हुनेछैन। मंगल ग्रहमा एक मानव बस्ती, मस्कको नजरमा असाध्यै ठूलो सफलता हुनेछ।

उनी मान्छन्, यसले भविष्य राम्रो हुनेछ। स्पेस-एक्सको स्थापनालाई लिएर पनि बीबीसीसँग मस्कले भनेका थिए, ‘मैले कम्पनी यसकारण बनाएँ किनकि म यो कुराबाट असन्तुष्ट थिएँ कि अमेरिकी स्पेस एजेन्सी अन्तरिक्ष अन्वेषणलाई लिएर किन थप महत्त्वाकांक्षी छैन, यसले किन अझ अगाडिको बारे सोच्न सकिरहेको छैन। म आशा गर्छु कि भविष्यमा चन्द्रमा र मंगल ग्रहमा हाम्रो बसोबास होस् र त्यहाँका लागि यहाँबाट लगातार उडान चलोस्।’

मस्क चाहन्छन् कि मान्छेले उनलाई एक लगानीकर्ताका रूपमा भन्दा पनि एउटा इन्जिनियरका रूपमा चिनुन्। रलेटसँगको साक्षात्कारमा उनले भनेका थिए, ‘म हरेक बिहान कुनै नयाँ प्राविधिक समस्याको हल खोज्नका लागि ब्युँझिन चाहन्छु। बैंकमा कति पैसा छ, यसलाई म सफलताको मापक मान्दिन।’

मस्क परिवर्तको धिमा गतिमा विश्वास राख्दैनन्। उनी चाँडोभन्दा चाँडो ‘फोसिल फ्युल’ लाई पछाडि छोड्न चाहन्छन्। साथै, मानव अस्तित्वलाई लामो समयसम्म कायम राख्नका लागि उनी मंगल ग्रहमा उपनिवेश विकासको पक्षमा छन्।

एलन मस्क आफू जोखिम उठाउने व्यक्ति हुन् र उनले यो पटकपटक साबित गरेका छन्। २००८ मा जब संसारले आर्थिक मन्दीको सामना गर्दा मस्कको हालत पनि असाध्यै खराब भएको थियो। त्यसपछि उनको कम्पनीले कयौं असफलताहरु देख्यो। एपेस-एक्सको पहिलो तीनवटै स्पेस लञ्च असफल भए। टेस्लामा पनि उत्पादनसँग जोडिएका कयौं समस्‍याहरु आइरह्यो र मस्क संकटमा फँसे।

उनले भनेका थिए – एकपटक यस्तो समय पनि आयो जब उनलाई आफ्नो खर्चका लागि साथीहरुसँग पैसा सापटी लिन परेको थियो। तर के उनलाई कहिल्यै टाट पल्टिने डर भएन? यो प्रश्नको जवाफमा मस्कले रलेटसँग भनेका थिए, ‘धेरै भए के हुन्छ, मेरा बच्चाहरुले सरकारी स्कुल जानुपर्ला। यसमा कुन ठूलो कुरा भयो, म आफैं सरकारी स्कुलमा पढेको हुँ।’

एलन मस्कलाई नजिकबाट जान्नेहरु भन्छन् कि उनलाई काम गर्ने लत छ। टेस्ला मोडेल-३ लाई तयार गरिरहेको बेला उनले भनेका थिए कि उनी हप्तामा १२० घन्टा काम गर्छन् र त्यसमा उनलाई मजा आउँछ।’

कोरोना महामारीको दौरान जब सान फ्रान्सिस्कोस्थित उनको फ्याक्ट्री बन्द गर्नुपर्यो, तब लकडाउनको प्रतिबन्धका विरुद्ध मस्क खुलेर बोले। उनले भने, ‘जसले महामरीको हौवा बनाइरहेको छ ती बेवकुफ हुन्।’ उनले घरमै बस्नु भन्ने आदेशलाई ‘जबरजस्ती’ भने, र भने ‘कोभिड लकडाउन संवैधानिक अधिकारको विरुद्ध छ।’

महामारीको दौरान नै मस्कको घरमा छोराको जन्म भयो। उक्त अवसरमा उनले ट्विटमार्फत संसारलाई भने कि उनले छोराको नाम ‘एक्स एई ए-१२’ (X Æ A-12) राखेका छन्। केही मान्छे मान्छन् कि एलन मस्कको मनमा के छ भन्ने पढ्न सकिँदैन र उनको व्यवहारको पूर्वानुमान लगाउन कठिन छ। तर यसको उनको काममा थोरै पनि असर देखिँदैन । उद्यमीका रुपमा उनी एक दूरदर्शी व्यक्ति हुन्।सेप्टेम्बर २०२० मा उनले भनेका छन्, ‘चाँडै नै टेस्लाका सबै कार ‘सेल्फ ड्राइभिङ’ युक्त हुनेछ।’ एलन को अन्तिम लक्ष भने मंगल ग्रहमा बस्ति बसाउने बताउँछन् ।

अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र उनलाई राष्ट्रपति बनाउन मक्स खुलेर लागेका थिए ।  मस्कलाई ट्रम्पले सरकारको विशेष कर्मचारी बनाएका छन् ।