बैंकिङ खबर/ अब व्यवसायीहरूले निकासी–पैठारी संकेत नम्बर (एक्जिम कोड) लिन भन्सार विभागको केन्द्रीय कार्यालय धाउनुपर्ने झन्झट हटेको छ ।
भन्सार विभागले एक सूचना जारी गर्दै आगामी वैशाख २ गतेदेखि ‘एक्जिम कोड’ सम्बन्धी सबै सेवा केन्द्रीय कार्यालयबाट बन्द गरिने जानकारी दिएको छ । अबदेखि व्यवसायीहरूले यो सेवा देशभरका भन्सार कार्यालयहरूबाटै प्राप्त गर्न सक्नेछन् ।
यस व्यवस्थाले आयात–निर्यात कारोबार गर्ने व्यवसायीहरूलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउने भन्सार विभागले जनाएको छ। २०७४र७५ आर्थिक वर्षदेखि लागू गरिएको ‘एक्जिम कोड’ प्रणाली अब भन्सार कार्यालयहरूबाटै सञ्चालन हुने भएकाले व्यवसायीहरूले समय र श्रम बचत गर्न सक्नेछन् ।
व्यवसायीहरूको प्रशासनिक झन्झट घटाउने यो निर्णयलाई निर्यात–आयात प्रक्रियालाई सरल बनाउन गरिएको महत्त्वपूर्ण सुधारको रूपमा हेरिएको छ ।




