March 27th, 2025

थप विद्युत् दिन भारत तयार

बैंकिङ खबर/भारतले नेपाललाई उपलब्ध गराउँदै आएको विद्युत् आयात अवधि थप पाँच घण्टा बढाउने भएको छ। हाल बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै आयात हुने गरेकोमा अब राति ११ बजेदेखि बिहान ४ बजेसम्म पनि विद्युत् उपलब्ध गराउने जानकारी भारतीय समकक्षीले ऊर्जा सचिव सुरेश आचार्यलाई दिएको ऊर्जा मन्त्रालयले जनाएकाे छ ।

भारतले १५ मार्चदेखि सन आवर अर्थात् बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् उपलब्ध गराउने गरी यसअघि स्वीकृति दिएको थियो । त्यस अवधिमा भारतीय खुला बजार (आईईएक्स) बाट १ हजार ४ मेगावाटसम्म विद्युत् आयात गर्न सकिने गरी स्वीकृति प्राप्त भएको छ । त्यसबाहेक १३ घण्टा आईईएक्सबाट आयात हुने विद्युत् पूरै बन्द हुने गरेको छ ।

अगामी १ अप्रिलदेखि अब राति ११ देखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् आयात गर्न पाइने भएको हो । यसबारे भारतीय पक्षले एसएमएसमार्फत जानकारी गराएको बताइएकाे छ । यसरी रातको समयमा ६ सय मेगावाट विद्युत् आयात गर्न पाउँदा औद्योगिक क्षेत्रको लोडसेडिङ घटाउन मद्दत पुग्नेछ । रातको समय १२ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने गरेकोमा अब त्यो अवधि घट्ने मन्त्रालयको भनाइ छ ।

त्यस्तै, रातको समयमा विद्युत् आयात गर्न पाउँदा त्यस अवधिमा पिकिङ रन अफ द रिभर आयोजनाहरू बन्द गरी पानी जम्मा गर्न सकिने र त्यस्तो विद्युत् पिक आवरमा उत्पादन गर्न सकिने छ । ऊर्जामन्त्री दीपक खड्काको अनुरोध र परराष्ट्रमन्त्री आरजु राणाको कूटनीतिक पहलपछि भारतले थप विद्युत् दिने सहमति जनाएको हो। नेपालमा सुख्खा याममा हुने विद्युत् समस्या समाधानका लागि सरकारले भारतसँग थप विद्युत् माग गरेको थियो। ऊर्जामन्त्री खड्काले भारतले थप विद्युत् उपलब्ध गराउनु सबैका लागि खुसीको कुरा भएको बताए।