March 23rd, 2025

देश विकासको गतिमा अगाडि बढेको छः प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको टुुगेदर फर टुमरो : युुथ एण्ड द प्राइमिनिस्टर कार्यक्रममा प्रधानमन्त्रीले भने,‘समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ ।’ उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए ।

‘हामीले थुप्रै मेडिकल कलेजहरु बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ ।’

प्रधानमन्त्री ओलीले भने,‘हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देख्नुुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुु भएको छ, यो अहिलेको समयको उपलब्धि हो । हामी भावनात्मक ढंगले चल्नुु हुँदैन, अहिले जति पनि समस्याहरु छन्, ती विकासको गतिसँगै आएका हुन् त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुुपर्छ ।’

प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह गरे ।