March 20th, 2025

नेपालको निर्यात ५७.२ प्रतिशतले बढ्यो

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो आठ महिनामा नेपालको निर्यात ५७.२० प्रतिशतले बढेको छ । भन्सार बिभागले बिहीबार सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत आवको पहिलो आठ महिनामा एक खर्ब ६ करोड १७ लाख रुपैयाँको बस्तु निर्यात भएको थियो । चालु आवको पहिलो आठ महिनामा भने एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपियाँको बस्तु निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै, समीक्षा अवधिमा आयात भने ११.२० प्रतिशतले बढेको छ । गत आवको पहिलो आठ महिनामा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँको बस्तु आयात भएको थियो । चालु आवको पहिलो आठ महिनामा भने ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको बस्तु आयात भएको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा नेपालको व्यापार घाटा (आयात–निर्यातको अन्तर) ६.२२ प्रतिशतले बढेको छ । गत आवको पहिलो आठ महिनामा व्यापार घाटा नौ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ थियो । चालु आवमा त्यो नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।