March 16th, 2025

‘लगानी भित्र्याउन केही वर्ष ‘ट्याक्स फ्री’ गरौं’

बैंकिङ खबर/पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले लगानी भित्र्याउन निश्चित वर्षका लागि नेपाललाई ‘ट्याक्स फ्री’ गर्नुपर्ने बताएका छन् । जनतालाई आर्थिक वृद्धिको पहुँचमा पुर्‍याउन लगानीलाई अझ सहज बनाउनुपर्ने उनले बताए ।

‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१’ माथि आइतबार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री महतले लगानीयोग्य रकमको स्रोत खोज्न नहुने बताएका हुन् ।

‘लगानीको वातावरण सुधार गर्नुपर्छ, निजी क्षेत्र विकास र ग्रोथको इन्जिन हो । म त भन्छु–आउने दिनमा हामीले विभिन्न क्षेत्रमा निश्चित वर्षका लागि टुयाक्स फ्री, गर्नुपर्छ । अरु देशमा बाहिरबाट आएको लगानी, कहाँबाट ल्याइस्, कुन स्रोतबाट ल्याइस् भन्दैनन् । हाम्रो कानूनलाई मानेसम्म लगानी गर । कानूनलाई मानेसम्म पूँजी ल्याऊ भन्छन्’ महतले भने, ‘स्वीट्जरल्याण्ड त्यसै बनेको हो र ? लन्डनको रियल स्टेट त्यसरी नै चलेको छ । लगानी उदार गर्नुपर्छ । मिडिलइस्ट त्यसैगरी बनेको हो । उनीहरूले कयौं वर्षसम्म ट्याक्स फ्री गरे । इकोसिस्टम बनेपछि ट्याक्स लगाउन थाले । तर, ट्याक्स तिर्दा पनि उनीहरूलाई फाइदा भयो र लगानीकर्ता बसे ।’

नेपालमा पनि वैदेशिक लगानीमा सरकार उदार बन्नुपर्ने महतले बताए । ‘नेपालमा आर्थिक वृद्धिको पहुँचमा पुर्‍याउने हो भने, लगानीको वातावरण सहज बनाउनु पर्छ । हरेकलाई शंकाको दृष्टिले हेर्ने गर्नु हुँदैन । लगानीकर्ताले मेहनतको फल खोज्छ, यसले शोषण गर्‍यो । खायो भन्ने कुरा अन्त्य गर्नुपर्छ’, महतले भने, ‘अझ आर्थिक सुधारका कार्यक्रम ल्याएर स्वदेशी विदेशी ल्याउनु पर्छ । यसो गर्दा स्वदेशी पूँजी बाहिर जान रोकिन्छ र बाहिरबाट पनि लगानी आउँछ ।’