बैंकिङ खबर/ टानले गोरखा र लमजुङ जिल्लामा पर्ने नयाँ पदमार्गको औपचारिक शुभारम्भ गरेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले होटल याक एण्ड यतिमा संयुक्त लोसार साँस्कृतिक कार्यक्रम २०२५ को आयोजना गर्दै नयाँ पदमार्गको औपचारिक शुभारम्भ गरेको हो । यस्तै पर्यटन प्रवद्र्धनका लागि साझेदारी गर्नेगरी सम्झौता (एमओयुक्त)मा हस्ताक्षर समेत गरेको छ ।कार्यक्रममा गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानबीर राई, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी तथा कुटनीतिक नियकका प्रमुख तथा प्रतिनिधिसहितको उपस्थिति रहेको थियो । बुद्ध हिमाल हिमालचुली ग्रेटलेक सर्किट ट्रेलको शुभारम्भ कार्यक्रममा गोरखा र लमजुङका ५ वटा गाउँपालिकाका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।
त्यस्तै टानले पदयात्रामा जाने पदयात्रीहरुको हवाई टिकेटिङलगायतमा सहुलियत तथा सहजीकरण गर्दै पर्यटन प्रवद्र्धनमा सहकार्य गर्नेगरी यति एयरलाइन्ससँग सम्झौता गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपालको पर्यटन क्षेत्रमा रहेका समस्याहरुको समाधानका लागि सरकार सधैं तत्पर रहेको उल्लेख गरे । पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारसँग आवश्यक समन्वय र सहकार्यका लागि टानलगायतका संघसंस्था तथा व्यवसायीहरु लाग्नुपर्नेमा जोड दिए ।
रक्षामन्त्री मानबीर राईले टानले संयुक्त रुपमा लोसार पर्व मनाएकोमा खुशी व्यक्त गर्दै यसखालका बहुआयमिक संस्कृतिहरुलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।
टानका अध्यक्ष सागर पाण्डेले लोसार पर्वलाई पर्यटकीय आकर्षणको रूपमा प्रवद्र्धन गर्दै, पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाहरू तथा व्यवसायीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा यसलाई थप परिस्कृत गर्दै लैजाने बताए ।
टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले टान संयुक्त लोसार कार्यक्रम एक मनोरञ्जनमात्रै नभएर विविधतायुक्त समुदायको संस्कृतिहरुलाई पर्यटकीय उपजको रुपमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको बताए ।