बैंकिङ खबर/प्रधानमन्त्री आर्थिक एवं विकास सल्लाहकार युवराज खतिवडाले एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गर्नु पर्नेमा जोड दिएका छन्। सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्दै खतिवडाले आगामी दशक रोजगार दशकका रुपमा मनाइरहेको जनाए।
‘वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गर्न सकिन्छ र सक्छौं, त्यसका केही सर्तहरू छन्,’ उनले भने, ‘आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दामाथी निरन्तर उकास्नु पर्छ । वित्तीय स्रोत तथा साधनलाई काम र रोजगारी सिर्जनातर्फ लैजानु पर्छ ।’
निजी क्षेत्रले कामका अवसरहरू सिर्जना गर्ने र सरकारले त्यसका लागि प्रोत्साहन र सहुलियतका नीतिहरू बनाउँदा सम्भव हुने खतिवडाले जनाए। नेपाल विकाससिल मुलुकबाट विकसित मुलुकमा नपुग्दै अहिलेका मानिस बुढ्यौलीमै जनसंख्या पुग्ने खतरा बढेको खतिवडाले बताए ।
‘विकासशील मुलुकमा रहँदा रहँदै बुढ्यौलीमै जनसंख्या भएको देशमा पुग्ने खतरा छ,’ उनले भने, ‘अरु मुलुकमा बुढ्यौली जनसंख्यामा पुग्दा देश विकासित मुलुकमा पुगिसकेको छ ।’ अहिले जनसांख्यिक अवसरको लाभ लिन बल गर्नुपर्ने उनको भनाइ छ ।
‘कुल जनसख्यांको ६५.२ प्रतिशत जनसंख्या आर्थिक रुपमा सक्रिय छन्, त्यो जनसंख्या २ करोड भन्दा बढी छ,’ उनले भने, ‘ती जनसंख्याले विभिन्न काम गरी आर्थिक वृद्धि गरेर ३० वर्षपछि हुने बुढ्यौलीलाई पाल्ने सक्ने अर्थतन्त्र हामीले निर्माण गर्नु पर्ने हुन्छ ।’